हामीले पनि पहिले कुखुरा चोरेकै हो। कुखुरा चोरेर जंगलमा गएर पोलेर खान्थ्यौं। हिउँ परेको बेला त झन् मजा आउँथ्यो। गाउँमा स्यालले लगेछ भन्ने हल्ला हुन्थ्यो।

भिडियो सहित हेर्नुहोस !
Advertisement
माइक समातेर स्टेजमा उक्लेकी अभिनेत्री ऋचा शर्माले दुई जनाको नाउँ लिइन्।
 
उस्तै रङ र डिजाइनको दौरासुरुवाल, कोट, जुत्ता र ढाका टोपीमा सजिएका दुई किशोर फुर्तिका साथ स्टेजमाथि चढे।
 
अलि मोटो र कालो वर्णका खड्ग नेपालीले दर्शकदिर्घातर्फ फर्केर दुवै हात हल्लाए। अनि, माइक समातेर आत्मविश्वासका साथ सम्बोधन गर्न थाले। दर्शकदिर्घाबाट सिट्ठी बज्यो। ‘ओ...’ भन्दै आवाज आयो। खचाखच भरिएको हलमा खड्गको ‘नटखट शैली’ मन नपराउने सायदै कोही थिए!
 
नहोस् पनि किन, खड्गले यस्तो झल्को दिएका थिए, मानांैं उनी सहरमा जन्मिएर वर्षौंदेखि टेलिभिजनमा अन्तर्राष्ट्रियस्तरका सेलिब्रेटी नियाल्दै आएका छन्। जोसँग आफ्ना फ्यानको मन जित्ने शैली खचाखच भरिएको छ।
अर्का किशोर शुक्रराज रोकायको हाउभाउ भने खड्गभन्दा शान्त थियो। उनको आत्मविश्वास र तेज पनि कमचाहिँ होइन। उनले पनि यस्तो भान पारे, मानौं सार्वजनिक समारोहहरूको केन्द्र भएर बस्न बालखैदेखि अभ्यस्त छन्।
 
मुगुका यी दुई किशोरको लोकप्रियता अचेल कुनै पनि फिल्मस्टारको भन्दा कम छैन। ‘कालो पोथी’ सार्वजनिक प्रदर्शनीमा आउनु दुई दिनअघि कुमारी हलमा आयोजित प्रिमियरमा सहभागी दर्शकको ध्यान अरू स्थापित कलाकारतिर भन्दा यिनै यी दुई किशोरमा अडेका थिए– खड्ग र शुक्र।
 
नेपालसहित जर्मनी, फ्रान्स र इटालीको संयुक्त लगानीमा बनेको यो फिल्म प्रदर्शनअघि कुमारीको पर्दामुनि रहेको स्टेजमा फिल्म टोलीको परिचयात्मक कार्यक्रम गरिएको थियो। दुईवटै हल बुक गरेर गरिएको प्रिमियरमा सञ्चारकर्मीदेखि उच्च ओहदाका देशी–विदेशीसम्म भेला भएका थिए। 
 
र, तीमध्ये धेरैसँग फोटो खिचाउन भ्याइनभ्याइ थियो यी दुवै किशोरलाई नै।
 
तर, उनीहरूको वास्तविक कथा त्यस दिन स्टेजमा देखिएभन्दा झन्डै विपरित छ।
...
 
‘कालो पोथी’ को केन्द्रीय चरित्रका लागि मुगुकै कलाकार चाहिएको थियो, जसले खस भाषा बोल्न जान्दथ्यो।
 
कलाकार छनोट गर्न कास्टिङ निर्देशक हिरा बिजुली आफ्नै जिल्ला मुगु पुगे। अन्दाजी १०/११ वर्षका प्रकाश नामका एक पात्रका लागि हिराका भतिजा खड्गराज नेपालीमा फिल्म–निर्देशक मीन भामको आँखा परिसकेको थियो। तर, उनलाई पक्का गरिएको थिएन, विकल्प खुल्लै थियो।
 
किरण नामका अर्का पात्रका लागि मीन र हिराका आँखामा त्यतिबेलासम्म कोही ‘क्लिक’ भएका थिएनन्। कास्टिङ निर्देशक हिरा मुगुका गाउँगाउँका विद्यालय चहारे। मुगुको भामवाडा घर भएका बिजुलीले आफ्नो गाउँबाट दुई घन्टा परको एक विद्यालयमा पहिलो चरणको ‘अडिसन’ राखे।
मुगुका थुप्रै विद्यालयबाट करिब पाँच सयको हाराहारीमा विद्यार्थी जम्मा भए। सबैलाई अभिनय गर्न लगाइयो। प्रकाशको चरित्रका लागि मीनको आँखामा क्लिक भएका खड्गले पनि अडिसन दिए। किरण नामको चरित्रका लागि पनि अडिसन लिइयो। भामवाडा नजिकै गाउँका शुक्रराज रोकायालाई सोधियो, ‘घोडा चढ्न आउँछ?
 
रोकायाले तेजिलो स्वरमा जवाफ दिए, ‘आउँछ, घरमै छ घोडा त।’ 
 
अर्का एक बालकले पनि घोडा चढ्न आउने बताएपछि दुवैलाई दोस्रो चरणको अडिसनका लागि रोजियो। बाँकी बाहिरिए।
निर्देशक भाम र बिजुलीले ती दुवैको हाउभाउ र बोलीचाली थाहा नपाउने गरी अवलोकन गर्न थाले। चरित्रलाई न्याय दिन सक्ने खुबी कुनमा बढी छ भन्ने थाहा पाउनु उनीहरूको उद्देश्य थियो।
 
दोस्रो चरणको अडिसनमा फिल्डमै गएर रफ सुटिङ गरियो। जसमा कलाकारको फेस चेक गरिएको थियो। रोकायालाई घोडा चढ्न भनियो। तर, उनले एक्कासि भने, ‘आउँदैन।’ 
अडिसन टोलीका सदस्यले रिसाउँदै सोधे, ‘अस्ति किन आउँछ भनेको त?’
 
‘आउँदैन भनेको भए त म यहाँसम्म आउने नै थिइनँ नि,’ रोकायाले नडराई जवाफ दिए, ‘सुटिङमा जाने बेलासम्म सिकिहाल्छु।’
 
अलि परबाट उक्त दृश्य नियालिरहेका निर्देशक भाम उठेर भने, ‘मलाई चाहिएको यस्तै केटा हो।’
 
टोलीको प्रश्न भामतिर तेर्सियो, ‘उसलाई घोडा चढ्न आउँदैन त!’
 
मीनले जवाफ दिए, ‘नआए सिक्छ। तर, ऊसँग आत्मविश्वास छ। हामीलाई चाहिएको यही हो।’
 
मीनले यसो भनेपछि रोकायाको प्रतिस्पर्धामा रहेका अर्का बालक बाहिरिए, जो घोडा चढ्न जान्दथे।
 
फिल्म प्रमोसनका लागि मुगुदेखि आइपुगेका प्रकाशको भूमिका खेल्ने खड्गराज र किरणको चरित्र निर्वाह गर्ने शुक्रराज यतिबेला काठमाडौंमै छन्। हालैको एक बिहान उनीहरूसँगको भेटमा रोकायाले आफू छनोट हुँदाको ‘कथा’ वर्णन गरे, ‘लाइन लागेका सबैलाई ‘घोडा चढ्न आउँछ’ भनेर सोध्दा ‘आउँदैन’ भन्नेजति सबै ‘आउट’ हुन्थे। अनि मैले ट्रिक लगाएँ, आउँछ भनेर ट्राई मार्छु। नभन्दै म छानिएँ। सुख, दुःख, हाँसो, रिसको एक्टिङ गर्न लगाए। त्यसमा पनि पास भएँ।’
यसरी ढाँटेर शुक्रराज कालो पोथीका किरण बन्न सफल भए। यस्तै कथा प्रकाश चरित्रका लागि छानिएका खड्गबहादुरको पनि छ। तर, खड्गले ढाँटेनन्।
 
मीन भामले कालो पोथी बनाउन सुुरु गरेको केही वर्षअघि नै छोटो फिल्म ‘बाँसुल्ली’ निर्देशन गरिसकेका थिए। बाँसुल्ली बनाएपछि उनी दोस्रो फिल्मको सोचमा थिए। उनी गाउँ जाँदा खड्गसँग भन्ने गर्थे ‘फिल्म खेल्छौ?’
 
गाउँका स्कुलमा टाक्कटुक्क नाटक खेलेका खड्गलाई फिल्म खेल्नु भनेको के हो थाहा नभए पनि भनिदिन्थे, ‘खेल्ने।’
 
मुखले यसो भने पनि खड्गले गम्भीर रुपमा लिएका थिएनन्। मीनको दिमागमा भने वर्षौंदेखि चलिरहेको आफ्नो कथाको पात्र प्रकाशको अभिनय खड्गले नै गर्न सक्छ जस्तो लागिरहेको थियो।
 
फिल्म बनाउने पक्का भएपछि कलाकार खोज्न थालियो। फिल्मका कास्टिङ निर्देशक हिरा बिजुलीका भतिज भए पनि खड्गले पनि अडिसनमा शुक्रलेझैं सुख, दुःख, हाँसो, रिसको अभिनय गर्नुप¥यो। पास पनि भए। तैपनि खड्गभन्दा राम्रो अभिनय गर्न अर्को कोही पाइहालेको खण्डमा उनको हातबाट फिल्म फुत्कन सक्थ्यो।
 
प्रकाशको चरित्र अलि चुनौतिपूर्ण थियो। फिल्मको कथाअनुसार निम्न वर्गीय ‘दलित’ प्रकाशकी आमाको मृत्यु भएको एक वर्ष पनि पुगेको हुँदैन। उसले सेतो कपडा लगाउनुपर्छ। खड्ग आफैंमा निम्न वर्गाीय ‘दलित’ परिवारका हुन्। फिल्ममा आमा बितेको भए पनि यथार्थमा उनको बाबुको देहान्त भइसकेको थियो। सेतो कपडा लगाउँदा उनलाई कुनै अप्ठ्यारो हुँदैनथ्यो। यिनै कारणले खड्ग कालो पोथीका प्रकाश बने।
 
फिल्ममा छानिइसकेपछि यी दुईलाई हिरा बिजुलीले कथा सुनाएका थिए।
‘कथा सुन्दा दिमागमा पूरै चित्र आउँथ्यो,’ शुक्र भन्छन्, ‘हामी उहाँको पछिपछि एक्टिङ गर्दै हिँड्थ्यौं।’
 
पछि उनीहरूलाई करिब तीन महिना अभिनय ‘वर्कसप’ मा राखियो। उनीहरू दिउँसो स्कुल जान्थे र बिहान बेलुकी अभिनेता प्रवीण खतिवडाबाट एक्टिङ सिक्थे।
 
उनीहरूको भनाइमा सुरुसुरुमा अप्ठ्यारो लागे पनि विस्तारै बानी पर्दै गयो र आफ्नै कामजस्तो लाग्न थाल्यो। उनीहरु अभिनय कक्षामा पनि फिल्मकै ड्रेस लगाउँथे। फिल्मकै नामले एकअर्कालाई बोलाउँथे। ढोका थुनेर दुई जना मात्र पनि एक्टिङ गर्थे।
 
‘कहिलेकाहीँ त झगडा पनि हुन्थ्यो,’ शुक्र भन्छन्, ‘अहिले त हामी फिल्मको भन्दा मिल्ने साथी भएका छौं।’ फिल्म सुटिङ सुरु हुनुअघि नै उनीहरूलाई फिल्मको डायलग पूरै कण्ठ भइसकेको थियो।
 
सुटिङ सुरु भएपछि कस्तो भयो नि?
 
‘सुरुमा त क्यामरा अन भयो कि हाँसो उठ्थ्यो,’ दुवैको अनुभूति उस्तै छ, ‘पछिपछि त मजा आउन थाल्यो।’
 
कहिलेकाहीँ दुवैलाई रुने दृश्यमा अप्ठ्यारो लाग्दो रहेछ। त्यसपछि निर्देशकले गाली गर्दा रहेछन्। बालख न परे, रुन्थे। यसैबेला थाहै नदिई निर्देशकले खिच्न भ्याइसकेका हुँदा रहेछन्। यस्ता थुप्रै दृश्य फिल्ममा समावेश नभएको उनीहरूको भनाइ छ।
 
फिल्ममा अभिनय गर्दा उनीहरू निर्देशकले भनेबमोजिम मात्रै गर्दैनथे। प्रवीण खतिवडाले सुनाएका कथा र ‘एक्टिङ गेम’ बाट उनीहरू कल्पनाशिल र ‘इम्प्रोभाइज’ गर्न खप्पिस बनिसकेका थिए। कहिलेकाहीँ त उनीहरूको सपनामा पूरै फिल्मका दृश्य सलल बग्थे।
 
अहिले यी दुई काठमाडौंमा छन्। खड्ग सुटिङकै लागि पहिलोपटक काठमाडौं आएका थिए भने शुक्र सुटिङपछि मात्र। खड्ग त झन् फिल्म खेल्नुअघि नेपालगन्ज पनि आइपुगेका थिएनन्। आफैंले खेलेको फिल्म नै उनीहरूले पहिलोपटक हलमा हेरेको फिल्म हो। त्यो पनि सिंगापुर पुगेर। फिल्मकै लागि उनीहरू इटालीसम्म पुगे।
पहिले र अहिलेको आफूमा के फरक छ त?
 
अभिनयले नै आफूहरूलाई टाठो बनाएको उनीहरूको अनुभूति छ। ‘कहिलेकाहीँ त सपनाजस्तो लाग्छ,’ दुवै उस्तै कुरा सुनाउँछन्। अडिसनमा फालिएका दुई–चार जना साथीहरूबाहेक गाउँका अरूले वाहवाही गर्दा रहेछन्। 
 
‘अहिले सोच फेरिएजस्तो लाग्छ,’ शुक्र थप्छन्,
सौगात मल्ल उनीहरू दुवैलाई सबैभन्दा मन पर्ने हिरो रहेछन्। उनीहरू दुवैलाई सौगातजस्तै राम्रो अभिनय गर्ने मन रहेछ। शुक्रलाई भने राजेश हमालसँग भेट्ने मन छ। ‘अस्ति प्रिमियरमा मीन अंकलले राजेश हमाल आउनुहुन्छ भन्नुभएको थियो, तर पछि आउनुभएन,’ उनले खिन्न हुँदै भने।
 
गाउँमा भन्दा काठमाडौं बस्ने दुवैको इच्छा छ। यतै बस्ने व्यवस्था मिल्यो भने राजेश हमाल भेटिहालिन्छ कि, शुक्रको आस मरेको छैन।
...
 
मुगुको कार्कीवाडाका दुई बालक प्रकाश र किरण नामका पात्रको कथा फिल्ममा चित्रित छ। प्रकाश कालो वर्णका छन् भने किरण गहुँगोरो। प्रकाशले निम्नवर्गीय ‘दलित’ परिवारको प्रतिनिधित्व गर्छन् भने किरण कथित उपल्लो जात र सम्भ्रान्त लाग्छन्।
 
फिल्मको कथा निर्देशक भामको बालख आँखाले नियालेको द्वन्द्वको कथा हो। यो कथामा भामका बालसखा हिरा बिजुली सारथि थिए। अझ भनौैं, कथा उनीसँग मिल्छ तर ठ्याक्कै होइन। केही अंश या प्रभाव मात्रै।
 
भामलाई सानैदेखि नियालेका गाउँका साथी तथा कालो पोथीमा व्यवस्थापन हेरेका राजेश केसीको भनाइमा फिल्म मीन र हिराको कथा त होइन तर केही मिल्दाजुल्दा पक्ष छन्, जुन फिल्मका दुई पात्र प्रकाश र किरणमा झल्किन्छ।
 
यो झल्को भाम र बिजुलीसँग मात्र आउँदैन, खड्ग र शुक्रमा पनि आउँछ।
 
राजेशका अनुसार यथार्थका मीन, हिरा, खड्ग र शुक्र अनि फिल्मका प्रकाश र किरणबीच मिल्ने एउटा पक्ष हो, वर्ग, जात र रङ।
 
कथित उपल्लो जातका भामका बुबा दुरसञ्चारका जागिरे र मुगुमा त्यतिबेलै भिडियो हल चलाएका थिए। फिल्ममा किरणका हजुरबा गाउँका मुखिया हुन्छन्। भाम र किरणबीच वर्ण पनि मिल्छ।
 
त्यस्तै, फिल्ममा कथित उपल्लो जातका किरणका हजुरबा मुखिया हुन्छन् भने शुक्रका आफ्नै बुबा कुनै समय गाउँका मुखिया थिए। उनका बुबा यार्सागुम्बाको व्यापारी हुन्। भाम र किरणबीच वर्ण मिलेजस्तै शुक्रसँग पनि मिल्छ।
 
अब हिरा, प्रकाश र खड्गतिर जाऔं।
हिरा पनि ‘दलित’ समुदायका निम्नवर्गीय परिवारका हुन् भने फिल्मका प्रकाश पनि ‘दलित’ समुदायका निम्नवर्गीय परिवारको बालकको प्रतिनिधित्व गर्छन्। फिल्मका प्रकाशजस्तै हिरा पनि कालो वर्णका छन्। कालो पोथीका शिक्षक उनै हिरा हुन्। हिरा र खड्गबीच काका–भतिजको सम्बन्धबाहेक वर्ण, वर्ग र जात मिल्छ। स्वभाव भने केही फरक छ। 
 
फिल्मको प्रिमियरमा देखिएजस्तो शान्त किरण छैनन्। भाम भने गम्भीर स्वभावका छन्। त्यो गाम्भीर्य खड्गमा देखिन्छ। हिरा पनि उस्तै छन्।
फिल्म र रियल लाइफमा के समानता छ त? हामीले यो प्रश्न उनीहरुलाई नै साध्यौं।
 
चकचक गरिरहनुपर्ने स्वभावका शुक्र नै सुरुमा बोले, ‘धेरै मिल्छ नि।’ उनले भन्न खोजेको कुखुराको प्रसंग रहेछ।
भन्न सुरु गरे, ‘हामीले पनि पहिले कुखुरा चोरेकै हो। कुखुरा चोरेर जंगलमा गएर पोलेर खान्थ्यौं। हिउँ परेको बेला त झन् मजा आउँथ्यो। गाउँमा स्यालले लगेछ भन्ने हल्ला हुन्थ्यो।’
 


एकपटक त उनले आफ्नै कुखुराको पनि सिकार गरेछन्। भन्छन्, ‘जंगलमा चरा मार्न भनेर निस्केको अलि पर बाटोमा आफ्नै कुखुरा देखेँ। सानो मट्यांग्राले एकतिर हानेको त अर्कोतिरबाट पो निस्कियो त। एक हप्तापछि मर्यो।’
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment